बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीय बिरेन्द्र माझी रहेका छन् । उनको शव जीतपुरसिमरा–१५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन् ।
शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले कुलोमा माझीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए ।
प्रहरीका अनुसार घटनास्थलमा नयाँ कपडासहितको झोलासमेत फेला परेको छ । घटनापछि मृतककी श्रीमती सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
युवकको मृत्यु कसरी र कुन परिस्थितिमा भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।