बारा । जिल्ला प्रशासन कार्यालय बाराले दीपावली, छठपर्व तथा नेपाल संवत् ११४७ लगायतका राष्ट्रिय पर्वहरू शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छवि्रमण भट्टराईद्वारा जारी विज्ञप्तिमार्फत प्रशासनले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव जोगाउन १० बुँदे अपिल सार्वजनिक गरेको हो ।
प्रशासनले पर्व मनाउँदा अन्य धर्मावलम्बी, छिमेकी तथा टोल समुदायको सार्वजनिक जीवनमा असर नपर्ने गरी मनोरञ्जन गर्न आग्रह गरेको छ । देउसी–भैलोलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिका रूपमा मात्र सञ्चालन गर्न पनि अनुरोध गरिएको छ ।
त्यस्तै, दीपावली तथा छठ पर्वका अवसरमा पटाका, भुइँचम्पा र आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्रीवितरण, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। दीप प्रज्वलन गर्दा आगलागीको जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा सट्टेबाजी, जुवातासलगायत कानुनले निषेध गरेका गतिविधि नगर्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा र अशान्ति सिर्जना नगर्न चेतावनी दिइएको छ ।
चाडपर्वका बेला बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । त्यस्तै, सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न पनि प्रशासनले ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारको २०७९ साउन ११ गतेको राजपत्रअनुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा पूर्ण प्रतिबन्ध रहेकाले त्यस्ता गतिविधि नगर्नसमेत प्रशासनले आग्रह गरेको छ ।
शान्ति सुव्यवस्थामा असर पार्ने कुनै पनि अवाञ्छित गतिविधि देखिएमा तत्काल नजिकैको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रुमको नम्बर १०० मा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले जारी गरेका निर्देशनविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।