सप्तरी | तिहार नजिकिएसँगै सप्तरीका बजारमा चहलपहल बढेको छ । चाडपर्वका लागि किनमेल गर्ने उपभोक्ताको भीड बढेसँगै जिल्लाका बजारमा नुनदेखि सुनचाँदीसम्मका वस्तुको कारोबारमा वृद्धि भएको छ ।
जिल्लाको सदरमुकाम राजविराजसहित बोदेबरसाइन, कल्याणपुर, कञ्चनपुर, हनुमाननगर र फत्तेपुर बजारमा समेत किनमेल गर्ने उपभोक्ताको चाप बढेको छ । तिहारमा विशेषगरी झाडु, नुन, बेसार, धनियाँ, सुनचाँदी तथा तामा र पित्तलका भाँडाकुँडाको बिक्री बढेको व्यवसायीले बताएका छन् ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन नयाँ धातुका सामग्री खरिद गर्दा शुभ हुने विश्वास छ। त्यसैगरी झाडु, नुन, बेसार र धनियाँ घरमा भित्र्याउँदा लक्ष्मीको आगमन हुने जनविश्वासका कारण पनि बजारमा यी सामग्रीको माग बढेको हो ।
राजविराजका व्यवसायी वैजनाथ साहका अनुसार तिहारका अवसरमा दैनिक उपभोग्य वस्तुदेखि धातुका सामग्रीसम्मको कारोबार बढेको छ । विशेषगरी झाडु, नुन, बेसार, धनियाँ र धातुका भाँडाकुँडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो ।
स्थानीय पसले मञ्जुकुमारीका अनुसार धनतेरस र काग तिहारका दिन बजारमा बढी कारोबार भएको छ । सामान्य अवस्थामा सप्तरीका उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार कुनौली, भीमनगर, वीरपुर र लौकही पुग्ने गरे पनि तिहारमा भने आफ्नै जिल्लाका बजारमा धनतेरसका सामग्री खरिदबिक्री भइरहेको उहाँको भनाइ छ ।
राजविराजका सुनचाँदी पसलमा पनि ग्राहकको उल्लेख्य भीड देखिएको छ। सुनचाँदी व्यवसायी शत्रुघ्न गुप्ताका अनुसार ग्राहकको चाप अत्यधिक हुँदा दिनभर पसलमा व्यस्त रहनुपरेको छ । उहाँका अनुसार ग्राहकले एक आना, दुई आनादेखि दुई तोलासम्मका सुनका गरगहना तथा टुक्रा खरिद गरेका छन्। त्यसमध्ये दुईदेखि चार आनासम्म सुन खरिद गर्ने ग्राहक बढी रहेको उहाँले बताउनुभयो ।
बजारमा बढेको कारोबारसँगै केही रोचक दृश्यसमेत देखिएका छन् । स्थानीय रामनाथ रामले गाउँघरमा ऋण तथा सापटी माग्दा पैसा नभएको बताउनेहरू धनतेरसका दिन सुनचाँदी पसलमा खरिदका लागि भीड लागेको देख्दा आश्चर्य लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँघरमा ऋणकर्जा सोध्दा कसैले मसँग पैसा छ भन्दैनन्, तर धनतेरसका दिन सुनचाँदी पसलमा लागेको भीड देख्दा अचम्म लाग्यो।”
उपभोक्ताको चाप बढेसँगै राजविराजका मुख्य सडकमा सवारी आवागमनसमेत प्रभावित भएको छ । पैदलयात्री, सिटी रिक्सा, अटोरिक्सा तथा मोटरसाइकलमा किनमेलका लागि आउनेहरूको भीडले सडकमा जाम हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । अनियन्त्रित भीडका कारण बजार अस्तव्यस्त बनेको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।
चाडपर्वका अवसरमा कारोबार बढेसँगै बजारमा मूल्यमा मनपरी हुने गरेको उपभोक्ता बौआलाल यादवको गुनासो छ । सामानको मूल्यमा एकरूपता कायम गर्न र उपभोक्तालाई ठगिनबाट जोगाउन नियमित बजार अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चाडपर्वलक्षित केही दिनअघि जिल्लाका विभिन्न स्थानमा पटक–पटक बजार अनुगमन गरिएको जानकारी दिनुभयो। उहाँले चाडपर्वका बेला उपभोक्ताको हित संरक्षण तथा बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न प्रशासनले अनुगमन गरेको बताउनुभयो।
तिहारका कारण सप्तरीका बजारमा आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय व्यवसायीले पनि कारोबार विस्तार गर्ने अवसर पाएका छन् । सामान्य अवस्थामा सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जाने उपभोक्ता तिहारका बेला आफ्नै जिल्लाका बजारमा आकर्षित हुनु सकारात्मक रहेको व्यवसायीको भनाइ छ ।
यद्यपि, बढ्दो भीडसँगै ट्राफिक व्यवस्थापन, मूल्य नियन्त्रण र नियमित बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।