जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्ष छठ पर्व मनाउन जनकपुरधामस्थित ऐतिहासिक गंगासागर जाने भएका छन् ।
तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित आफूहरू जनकपुरधामको गंगासागरमा उपस्थित हुने जानकारी दिएका हुन् ।
उनले तिहारलाई उज्यालो, उमङ्ग र उत्साहको पर्व तथा छठलाई आस्था, श्रद्धा र समर्पणको पर्वका रूपमा उल्लेख गर्दै यी पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् ।
लामिछानेले पर्वहरूले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउँदै विविधताबीचको राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुग्ने बताएका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन हामी जनकपुरधामको गंगासागरमा उपस्थित हुनेछौँ ।”
रास्वपा सभापति लामिछानेको जनकपुरधाम आगमनलाई यस वर्षको छठ पर्वसँगै राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश जोडिएको कार्यक्रमका रूपमा हेरिएको छ ।