सिरहा | सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलो ५६० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भगवानपुर गाउँपालिका–४ स्थित बलान खोलामा केही व्यक्तिहरू टाउकोमा पोका बोकेर हिँडिरहेको सूचना प्राप्त भएको थियो ।
उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर आएका व्यक्तिहरूले पोका फालेर भाग्ने प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले यादवलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले घटनास्थलबाट गाँजा भरिएका पाँचवटा पोका बरामद गरेको जनाएको छ । कपडा तथा प्लास्टिकले बेरिएका बोरासहित तौल गर्दा कुल ८३ किलो ५६० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको र पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।