सर्लाहीको चुरेवर्ती क्षेत्रका स्थानीय वर्षौंदेखि खानेपानीको चरम समस्या झेल्न बाध्य छन् । हिउँदमा पानीका मुहान सुक्ने र वर्षायाममा खोलामा आउने बाढीले खानेपानीका इन्टेक तथा पाइप बगाउँदा चुरे क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी जुटाउनै मुस्किल हुने गरेको छ ।
चुरेभेगका घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला, ढुङ्ग्रेखोलालगायतका क्षेत्रमा खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। अधिकांश स्थानीय कुवा, जरुवा, पाखा तथा खोलाको पानीमा निर्भर रहन बाध्य छन् ।
लालबन्दी नगरपालिका–१५ भित्रीखोलाका तिलक योञ्जनका अनुसार वर्षायाममा खोलाको बाढी पसेर कुवामा बालुवा तथा फोहोर जम्मा हुने गरेको छ। यसले गर्दा स्थानीयले धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।
“हिउँदमा कुवा सुक्छ, बर्खामा बाढी पसेर कुवाको पानी पिउनयोग्य हुँदैन,” उनले आफ्नो समस्या सुनाए ।
चुरे क्षेत्रको फेदीमा समेत खोलामा इन्टेक निर्माण गरी पाइपमार्फत पानी ल्याएर विभिन्न स्थानमा धारा जडान गरिएको छ । तर ती धारामा समेत अहिले धमिलो पानी आउने गरेको स्थानीयको गुनासो छ ।
वडा तथा पालिकाले केही स्थानमा लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याउने प्रयास गरे पनि भौगोलिक विकटताका कारण धेरै बस्ती अझै खानेपानीको सुविधाबाट वञ्चित छन् ।
स्थानीयका अनुसार खानेपानीको अभाव चुरेभेगको सबैभन्दा ठूलो समस्यामध्ये एक बनेको छ । ईश्वरपुर नगरपालिका–१२ लामीदमारका प्रेमबहादुर बलले खानेपानी र सडकको समस्या वर्षौंदेखि कायम रहेको बताए ।
खोलाको दूषित पानी पिउनुपर्ने बाध्यताका कारण गाउँलेहरू पटकपटक पानीजन्य सङ्क्रमणबाट बिरामी हुने गरेको उनको भनाइ छ।
“खोलाको विकट ठाउँ भएकाले खोला र खोल्साको पानी पिउनुको विकल्प छैन । दूषित पानी पिउँदा गाउँलेहरू बारम्बार बिरामी परिरहन्छन्,” उनले भने ।
खानेपानीको जोहो गर्न स्थानीय बिहानैदेखि खोलाखोल्सा र कुवामा धाउन बाध्य छन् । धारामा सीमित मात्रामा पानी आउने स्थानमा समेत पानी भर्ने विषयलाई लिएर झैझगडा हुने गरेको स्थानीय बताउँछन् ।
अर्कोतर्फ, चुरे क्षेत्रका विभिन्न स्थानमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारले लाखौँ रुपैयाँ खर्च गरेर निर्माण सुरु गरेका खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ । कतिपय आयोजना बजेट ल्याउने र खर्च गर्ने माध्यम मात्र बनेको भन्दै उनीहरूले लगानीको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।
यद्यपि, हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर तामाङले भने आफ्नो वडामा यसै वर्ष शतप्रतिशत घरधुरीमा खानेपानी सुविधा पुर्याउने दाबी गरेका छन् ।
निर्वाचित भएर आएदेखि नै चुरे क्षेत्रका डाँडापाखामा रहेका अधिकांश बस्तीमा पानीका मुहान पहिचान गरी लिफ्टिङ प्रविधिमार्फत घरघरमा धारा पुर्याइएको उनको भनाइ छ ।
हरिवन नगरपालिका–१ मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) लगायतका निकायबाट पटकपटक बजेट प्राप्त भएकाले खानेपानी सेवा विस्तारमा सहयोग पुगेको वडाध्यक्ष तामाङले बताए ।
“हामीले सबैभन्दा धेरै बजेट खानेपानीमै खर्च गरेकाले चुरेभेगका अन्य ठाउँमा जस्तो समस्या छैन,” उनले भने ।
चुरेवर्ती क्षेत्रका बासिन्दाले अझै पनि स्वच्छ खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने अवस्थाले सरकारी लगानी, निर्माणाधीन आयोजना र खानेपानी सेवा विस्तारको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ । खानेपानीजस्तो आधारभूत सुविधाबाटै वञ्चित स्थानीयका लागि दीर्घकालीन र भरपर्दो समाधान आवश्यक देखिएको छ ।