सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीच भागमा गाँजा लुकाएर राखिएको विशेष सूचना पाएपछि प्रहरीले आज राति करिब १ बजे खानतलासी गरेको थियो । सो क्रममा खोलामा खाल्डो खनेर लुकाइएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा कुनै पनि व्यक्ति फेला परेका छैनन् । बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार जिल्लाका विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।
नदी तथा खोलाका दुर्गम क्षेत्रलाई तस्करहरूले लागूऔषध ओसारपसारको माध्यम बनाउँदै आएको प्रहरीको भनाइ छ । यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।