धनुषाको जनकपुर–ढल्केवर सडकखण्डमा मोटरसाइकललाई ठक्कर दिएर युवकको ज्यान लिई फरार भएका कार चालकलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८, सोनपारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव रहेका छन् ।
प्रहरीका अनुसार २०८० चैत १३ गते बिहान करिब ६ः१५ बजे धनुषाको लक्ष्मीनिया गाउँपालिका–६ स्थित सेन्ट्रल अस्पताल अगाडि दुर्घटना भएको थियो । यादवले चलाएको भारतीय नम्बर प्लेटको डीएल १२ सी ०९४४ नम्बरको कारले प्रदेश २–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
कारको ठक्करबाट महोत्तरीको लोहारपट्टी नगरपालिका–४, खुट्टा टोल निवासी २५ वर्षीय रामबाबु साह गम्भीर घाइते भएका थिए । जोगी साह सोनारका छोरा साहको उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि कार चालक यादव घटनास्थलमै गाडी छाडेर फरार भएका थिए । फरार चालकको खोजीमा जुटेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनी सिरहाको मिर्चैयामा लुकिछिपी बसिरहेको सूचना प्राप्त गरेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय मिर्चैयासँग समन्वय गरी खटिएको प्रहरी टोलीले यादवलाई कात्तिक २५ गते दिउँसो ३ः२० बजे मिर्चैयाबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका यादवमाथि सवारी ज्यान मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।