सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित गर्जहा पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
गएराति बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बरहथवा नगरपालिका–८ निवासी २२ वर्षीय रौशन मण्डल र ३२ वर्षीय रघुनाथ मण्डल घाइते भएका छन् । दुवै जनाको अवस्था गम्भीर रहेको र बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई तत्काल बरहथवा नगर अस्पतालमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा हेलमेट र चप्पल फेला परेका छन् । तर दुर्घटनामा संलग्न मोटरसाइकल फेला परेको छैन भने चालकको पहिचानसमेत खुल्न सकेको छैन ।
प्रारम्भिक विवरणअनुसार दुवै घाइतेले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तथा घटनामा संलग्न मोटरसाइकल र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।