छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीस्थित एउटै गाउँ फर्किंदै गरेका यात्रु सवार विद्युतीय गाडी (ईभी) मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकाका छिमेकी तथा आफन्तहरू काठमाडौँको टीकाथलीबाट गाडी रिजर्भ गरी गाउँ फर्किने क्रममा बिहीबार बिहान दुर्घटनामा परेका हुन् । दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुले पनि अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्येका ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू राति करिब २ बजे टीकाथलीबाट यात्रा सुरु गरेका थिए । गाडीमा चालकसहित करिब १४ जना सवार थिए । उनीहरूमध्ये अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त रहेका थिए ।
बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ । घाइते हुनेमा तीन पुरुष र तीन बालक रहेका छन् ।
घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ निवासी ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ ।
मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने सक्षमको अवस्था सामान्य रहेको छ । टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो । घाइते छ जनाकै हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सुरक्षाकर्मीले उद्धार तथा खोजतलास कार्य जारी राखेका छन् ।
दुर्घटनाको सूचना बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली परिचालन गरिएको थियो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा गाडी खसेका कारण उद्धार तथा खोजतलासमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकहरूको पहिचान खुलाउने तथा दुर्घटनाको कारण पत्ता लगाउने काम गरिरहेको जनाएको छ ।