नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन् । उनी बिहीबार बिहान काठमाडौँस्थित डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौँ जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो ।
तिहारअघि नै अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएपछि रायमाझीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।