जनकपुरधाम । छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन धनुषामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ । छठ पर्वका अवसरमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति धनुषा र छठ पूजा समितिका पदाधिकारीहरूको संयुक्त बैठकले विभिन्न निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाभरका तलाउ, पोखरी तथा नदी किनारमा छठ पूजा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
बैठकले छठ पूजा स्थलमा शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पूजा समितिहरूले स्वयंसेवक परिचालन गर्ने र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालले आपसी समन्वयमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, छठ पूजा स्थलसँग जोडिएका क्षेत्रमा सञ्चालनमा रहेका मासु तथा मदिरा पसललाई पूजा अवधिभर बिक्री वितरण बन्द गर्न अनुरोध गरिने भएको छ ।
छठ घाटमा ठूलो आवाजमा डिजे बजाउने, पटका तथा अन्य विस्फोटक पदार्थ पड्काउने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधिलाई समेत नियन्त्रण गरिने बैठकले निर्णय गरेको छ ।
छठ पूजाका क्रममा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिहरूको आवागमन र घाटमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पूजा समितिसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउनेछन् ।
यसैगरी, छठ पर्वका बेला सवारी आवागमन सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूजा समितिसँग समन्वय गरी ट्राफिक रुट, पार्किङ स्थल तथा वैकल्पिक बाइपास सडकको व्यवस्थापन गर्ने भएको छ ।
शुक्रबार बसेको बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि तथा धनुषाका विभिन्न छठ पूजा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
