काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका सांसदसहितको टोली आइतबार चीन प्रस्थान गरेको हो । टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रतिनिधिमण्डलको चीन भ्रमण ११ दिनसम्म चल्नेछ ।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न सहर बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
भ्रमण टोलीका सदस्य तथा रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा. आनन्दबहादुर चन्दले चीनले नवप्रवर्तन र प्रविधिका क्षेत्रमा हासिल गरेको उपलब्धिबारे अध्ययन गर्ने उद्देश्यले भ्रमण गर्न लागेको बताएका छन् ।
उनका अनुसार चीनले प्रविधि र अनुभवका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन तथा उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विचार आदानप्रदान गरिनेछ ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासका क्षेत्रमा चीनले अपनाएका नीति तथा संस्थागत अभ्यासबारे जानकारी लिने आफ्नो रुचि रहेको चन्दले बताएका छन् ।
त्यस्तै, भ्रमण टोलीका सदस्य डा. धनञ्जय रेग्मीले दुई देशबीच आपसी समझदारी र आत्मीय सम्बन्ध विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।
उनले रास्वपा सांसदहरूको चीन भ्रमणले नेपाललाई आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउन सक्ने सहकार्यको आधार तयार गर्ने अपेक्षा गरेका छन् । साथै, भ्रमणले दुई देशबीच राजनीतिक सम्बन्ध सुदृढीकरण तथा भविष्यमा हुने उच्चस्तरीय भ्रमणको तयारीमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो ।