काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तिहारयता सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो । त्यसपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य समायोजन गरिएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
तिहारयता चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ । गत सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।