सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर जान नदिने बताएका छन् । छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछानेले सिरहाको बरियारपट्टीमा आयोजित संक्षिप्त सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
मधेश सधैँ परिवर्तनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले सुशासन र समृद्धिका लागि रास्वपाको पक्षमा व्यक्त गरिएको जनमतको सम्मान गर्न पार्टी सचेत रहेको बताए ।
‘मधेशको समस्या पनि भ्रष्टाचार र कुरीति हो । यसको अन्त्यका लागि सरकारले काम थालिसकेको छ । केन्द्र सरकारका हातखुट्टा भनेका स्थानीय र प्रदेश सरकार हुन् । स्थानीय र प्रदेश सरकार बनाउन पनि साथ चाहिएको छ,’ उनले भने ।
पार्टीभित्र कुनै मनमुटाव नरहेको दाबी गर्दै लामिछानेले पार्टी र सरकार सन्तुलित रूपमा अघि बढिरहेको बताए ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले नेताको वरिपरि रहेर उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । जनताको साथमा रहेर काम गर्ने इमानदार र सक्षम उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
मधेशको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक न्यायका क्षेत्रमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि उनले बताए ।
‘गफ गरेर समय बर्बाद गर्नुभन्दा काम गरेर देखाउने समय आएको छ । रास्वपाबाट निर्वाचित हुने जनप्रतिनिधिलाई मालिक बन्न होइन, सेवक बनेर काम गर्न पार्टीबाट निर्देशन जारी भइरहेको छ,’ लामिछानेले भने ।
मधेशमा छोटो समयमै विकास गर्न सकिने सम्भावना भए पनि भ्रष्टाचार र बेथितिका कारण प्रदेश विकासमा पछि परेको उनको भनाइ थियो । पुराना दलको साथ छाडेर रास्वपालाई विश्वास गरेका जनताको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले जनताको विश्वासमा घात भए आगामी निर्वाचनमा जनतासामु कुन मुख देखाएर जाने भन्ने विषयमा पार्टी गम्भीर रहेको बताए ।
यसैबीच, रास्वपा सहमहामन्त्री पुरुषोत्तम यादवका अनुसार लामिछानेको भ्रमण कार्यक्रमअन्तर्गत जनकपुरधामको ढल्केवर हुँदै सिरहाको बन्दीपुर, चोहर्वा र सिरहा पुग्ने कार्यक्रम रहेको थियो । त्यसपछि हुलाकी मार्ग हुँदै सप्तरीको शक्तिपीठ छिन्नमस्ता दर्शन गर्ने र लहानस्थित राजदेवी मन्दिरमा पूजा गरी पुनः जनकपुरधाम फर्किने कार्यक्रम तय गरिएको थियो ।
सिरहा प्रवेशका क्रममा रास्वपा केन्द्रीय सदस्य तथा सिरहा–१ का सांसद बब्लु गुप्ता, मधेश प्रदेश सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादव, जिल्ला सभापति हरि मैनालीसहित १७ वटै स्थानीय तहका सभापति, नेता तथा कार्यकर्ताले बन्दीपुरमा लामिछानेको स्वागत गरेका थिए ।
लामिछानेले सिरहास्थित सलहेश मन्दिरमा समेत दर्शन गरेका थिए । छठ पर्व जनकपुरधाममा मनाएर सिरहा र सप्तरी पुगेसँगै उनको मेची–महाकाली यात्रा सुरु भएको रास्वपा मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले जानकारी दिए ।