सिरहा नगरपालिका–७ स्थित ताज होटलबाट तास खेलिरहेको अवस्थामा महिलासहित नौ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार होटलमा जुवा खेलिरहेको विशेष सूचना पाएपछि शनिबार राति करिब १० बजे खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका–८, रडिया टोलका ३५ वर्षीय रामकुमार यादव, सिरहा नगरपालिका–७, शिवचोकका ३५ वर्षीय सन्तोषकुमार साह र ४६ वर्षीय खेमविक्रम थापा रहेका छन् ।
त्यसैगरी सिरहा नगरपालिका–१८ का ३५ वर्षीय रामसेवक मण्डल, वडा नं. १ का ४२ वर्षीय अरुणकुमार यादव, वडा नं. १८ का ३१ वर्षीय सञ्जितकुमार मण्डल, वडा नं. २ का ४२ वर्षीय दिनेशकुमार यादव र सोही स्थानका ३९ वर्षीय काशीराय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गालस्थित मिदनापुर जिल्लाको तियोखेडिया ग्राम पञ्चायतकी ४४ वर्षीया सपना रोयसमेत रहेकी छन् ।
प्रहरीले जुवा खेलिरहेको कोठाबाट नेपाली रुपैयाँ १ लाख ७ हजार ७१०, भारतीय रुपैयाँ १ हजार १२०, १० थान मोबाइल र नयाँ तासका १३ बण्डल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी पालले जानकारी दिएका छन् ।