जनकपुरधाम । अस्ताउँदो सूर्यलाई अर्घ दिँदा जोडिएका हात, आँखामा श्रद्धा र मनमा परिवारको सुख, शान्ति तथा समृद्धिको कामना । बिहानैदेखि पोखरीका घाटमा व्रतालु र श्रद्धालुको घुइँचो थियो । जलाशयमा उभिएर सूर्यदेव र छठी माताको आराधना गरिरहेका व्रतालु, दीप र बत्तीले झिलिमिली घाट तथा लोकगीतका मधुर धुनले जनकपुरधामका पोखरीहरूलाई भक्तिमय बनाएका थिए ।
तर, छठ पर्वको रौनक सकिएको केही समयमै ती घाटहरूको दृश्य फेरिएको छ । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, अहिले त्यहीँ पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् ।
पर्व सकिएपछि भक्तजन घर फर्किए, तर उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै थुप्रिएका छन् । गंगासागर, धनुषसागर, दशरथ तलाउ र अंगराजसर पोखरीका घाटको अवस्था हेर्दा धार्मिक स्थलभन्दा फोहोर थुपारिएको स्थानजस्तै देखिन्छ ।
यो दृश्य केवल फोहोर व्यवस्थापनको समस्या मात्र होइन, प्रकृतिप्रतिको हाम्रो व्यवहार, धार्मिक आस्थाको वास्तविक अर्थ र सामाजिक जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न पनि हो ।
प्रकृतिको पूजा गर्ने पर्वमै प्रकृतिमाथि बेवास्ता !
छठ पर्व प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध जोडिएको पर्व हो । पोखरी, ताल, नदी तथा जलाशयको किनारमा उभिएर जल र सूर्यलाई साक्षी राख्दै सूर्यदेवको आराधना गरिन्छ । पृथ्वीमा जीवन सम्भव बनाउने सूर्यप्रति कृतज्ञता व्यक्त गरिन्छ ।
यस पर्वमा प्रयोग गरिने अधिकांश सामग्री पनि प्रकृतिबाटै प्राप्त हुन्छन् । माटोको घैला, दियो, केराको पात, उखु, नरिवल तथा विभिन्न फलफूल र मौसमी उत्पादनबाट प्रसाद तयार गरिन्छ । प्रकृतिले दिएको उपहारलाई नै प्रकृतिसामु अर्पण गर्नु छठ पर्वको सुन्दर विशेषता हो ।
यस पर्वले जलस्रोतको महत्त्व बुझ्न, प्राकृतिक सम्पदाको सम्मान गर्न र वातावरण संरक्षण गर्नसमेत प्रेरित गर्छ । त्यसैले छठ आउनुअघि पोखरी तथा घाटको सरसफाइ गर्ने परम्परा छ । कतिपय स्थानमा स्थानीयवासी र युवाहरू आफैँ जुटेर पोखरीका डिल सफा गर्ने, झारपात हटाउने र घाटलाई आकर्षक बनाउने गर्छन् ।
तर विडम्बना ! जुन पोखरीलाई सफा गरेर पूजा गर्न योग्य बनाइन्छ, त्यही पोखरीलाई पूजा सकिएपछि फोहोरको थुप्रोमा परिणत गरिन्छ ।
प्रकृतिको पूजा गर्ने नाममा प्रकृतिलाई नै फोहोर उपहार दिनु कस्तो आस्था हो ? सूर्यसँग जीवन र समृद्धिको कामना गर्ने तर सूर्यको प्रकाशले जीवन दिएको प्रकृतिको संरक्षणमा बेवास्ता गर्नु कस्तो धार्मिक व्यवहार हो ?
पूजा गर्दा पवित्रता, सकिएपछि किन बेवास्ता ?
छठ पर्वका लागि घरदेखि घाटसम्म पूजाका सामग्री पुर्याउँदा विशेष सावधानी अपनाइन्छ । कुन सामग्री कहाँ राख्ने, कुन परिकार कसरी चढाउने र कुन समयमा सूर्यलाई अर्घ दिने भन्ने कुरामा विशेष ध्यान दिइन्छ । तर पूजा सम्पन्न भएपछि त्यही सावधानी र जिम्मेवारी हराएको देखिन्छ ।
जनकपुरधामका प्रमुख धार्मिक पोखरी गंगासागर, धनुषसागर, दशरथ तलाउ र अंगराजसरका घाटमा पूजाका लागि ल्याइएका दियो, बत्ती, घैला, ढाकी, सुपली तथा अन्य सामग्री छाडेर श्रद्धालुहरू घर फर्किएका छन् ।
यसले एउटा गम्भीर विरोधाभास उजागर गरेको छ । पूजा गर्दा पवित्रता खोज्ने हामी पूजा सकिएपछि त्यही पवित्रताको आधार बनेको वातावरणप्रति किन उदासीन हुन्छौँ ? धर्म र आस्था केही घण्टाको अनुष्ठानमा मात्रै सीमित हुन सक्छन् ?
छठको अर्थ सूर्यलाई अर्घ दिनु मात्र होइन । सूर्यले दिएको प्रकाश, ताप र ऊर्जाबाट चलिरहेको जीवनप्रति कृतज्ञ हुनु पनि हो । पानी, हावा, माटो र वनस्पतिप्रति सम्मान व्यक्त गर्नु पनि हो । प्रकृतिको संरक्षणबिना मानव जीवन सम्भव छैन भन्ने सन्देश आत्मसात् गर्नु पनि हो ।
तर व्यवहारमा हामीले छठको आध्यात्मिक र सांस्कृतिक पक्षलाई आत्मसात् गरे पनि यसको वातावरणीय सन्देशलाई पर्याप्त रूपमा कार्यान्वयन गर्न सकेका छैनौँ ।
घाट व्यवस्थापन समिति र स्थानीय सरकारको जिम्मेवारी कहाँ ?
पोखरी तथा घाटमा देखिएको फोहोरको समस्या भक्तजनको चेतनाको कमीमा मात्र सीमित छैन । यसमा घाट व्यवस्थापन समिति र सम्बन्धित सरकारी निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ ।
छठ पर्वअघि घाट सजावट, बत्ती व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा अन्य तयारीका लागि विभिन्न समिति सक्रिय हुन्छन् । चन्दा संकलनदेखि सजावटसम्मका काममा व्यापक तयारी गरिन्छ । घाटलाई आकर्षक बनाउन विभिन्न संरचना निर्माण गरिन्छन् ।
तर पर्व सकिएपछि ती घाटहरूको व्यवस्थापन र सरसफाइ कसको जिम्मेवारी हो भन्ने विषयमा पर्याप्त ध्यान पुगेको देखिँदैन ।
यदि पर्वअघि घाट सफा गर्न सकिन्छ भने पर्वपछि फोहोर उठाउन किन सकिँदैन ? यदि हजारौँ भक्तजनलाई व्यवस्थित रूपमा अर्घ दिने वातावरण बनाउन सकिन्छ भने उनीहरू फर्किएपछि घाट सफा राख्ने व्यवस्था किन गर्न सकिँदैन ?
घाट व्यवस्थापन समितिले पर्व सुरु हुनुअघि मात्र होइन, सम्पन्न भएपछि पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रत्येक घाटमा पर्याप्त डस्टबिन राख्ने, पूजा सम्पन्न भएपछि तत्काल सरसफाइ टोली परिचालन गर्ने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने र पोखरीमा पूजाका सामग्री फाल्न नदिने व्यवस्था गर्न सकिन्छ ।
त्यस्तै, स्थानीय तहले पनि छठ पर्वलाई लक्षित गरी विशेष सरसफाइ योजना बनाउन आवश्यक छ । पर्वको अवधिभर मात्र नभई त्यसपछि पनि नियमित फोहोर संकलन र व्यवस्थापनको व्यवस्था हुनुपर्छ ।
घाट व्यवस्थापन समितिको सफलता कति आकर्षक सजावट गरियो, कति बत्ती बालियो वा कति चन्दा संकलन भयो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । पर्व सकिएपछि घाट कति सफा राखियो भन्ने कुरा पनि सफलताको महत्त्वपूर्ण मापदण्ड बन्नुपर्छ ।
सार्वजनिक सम्पत्ति संरक्षणमा नागरिक पनि जिम्मेवार बन्नुपर्छ
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका अनुसार यहाँका नागरिकमा सार्वजनिक स्थान र सम्पत्तिको जिम्मेवारी सम्बन्धित निकायको मात्र हो भन्ने सोच देखिन्छ ।
उनका अनुसार सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति हो । प्रयोग गर्ने बेला सबैले प्रयोग गर्ने तर मर्मतसम्भार र सरसफाइको कुरा आउँदा सबै जिम्मेवारी स्थानीय सरकारमाथि थोपर्ने प्रवृत्ति रहेको छ ।
नागरिकको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाइ छ ।
विद्यालयदेखि समुदायसम्म वातावरणीय चेतना फैलाउनुपर्ने आवश्यकता छ । धार्मिक अगुवा, पुजारी, घाट व्यवस्थापन समिति तथा सामाजिक संघसंस्थाले पनि छठको वास्तविक सन्देशसँगै स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनुपर्छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ का स्थानीयवासी सतीशकुमार झा भन्छन्, ‘छठ पर्व वर्षमा एकपटक आउँछ, तर पोखरी र जलाशयको आवश्यकता वर्षभरि रहन्छ । छठमा अर्घ दिन प्रयोग गरिने पानी यही सहरका नागरिकको दैनिक जीवनसँग पनि जोडिएको छ । त्यसैले पर्व सकिएपछि पोखरीलाई फोहोर छाड्नु भनेको आफ्नै वातावरण र भविष्यलाई अस्वच्छ बनाउनु हो ।’
आस्था केवल पूजा होइन, प्रकृति संरक्षण पनि हो
छठको वास्तविक सुन्दरता घाटमा बालिएका हजारौँ दीपमा मात्र छैन । यसको सुन्दरता त पर्व सम्पन्न भएपछि पनि स्वच्छ र निर्मल रहने पोखरीमा हुनुपर्छ ।
सूर्यलाई अर्घ दिँदा जोडिएका हातले पूजा सकिएपछि एउटा फोहोर टिपेर डस्टबिनसम्म पुर्याउन पनि सक्नुपर्छ । छठी मातासँग परिवारको सुख र समृद्धि माग्ने भक्तजनले आफूले पूजा गरेको जलाशयको संरक्षण गर्ने संकल्प पनि गर्न सक्नुपर्छ ।
भक्तजनले आफूले प्रयोग गरेका सामग्री र फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्नुपर्छ । घाट व्यवस्थापन समितिले सरसफाइलाई अनिवार्य जिम्मेवारी बनाउनुपर्छ । स्थानीय सरकारले प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । धार्मिक अगुवाहरूले पनि पूजा र सरसफाइ एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिनुपर्छ ।
अन्ततः छठ पर्वले सिकाउने प्रकृतिप्रतिको सम्मानलाई व्यवहारमा उतार्न नसकिएसम्म यसको वातावरणीय सन्देश अधुरै रहनेछ । प्रकृतिको पूजा गर्ने पर्व मनाएर प्रकृतिलाई नै फोहोर बनाउने प्रवृत्तिको अन्त्य गर्नु आजको आवश्यकता हो ।








