सर्लाही । सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेट गरेका छन् ।
सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था, स्वास्थ्य र समस्याबारे जानकारी लिएका हुन् ।
भेटका क्रममा उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेहरूलाई राज्यका तर्फबाट उचित राहत, सहयोग र उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
गत कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।



