जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सोमबारदेखि मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिरबाट सांसद सिंहले पदयात्राको सुरुवात गरेका हुन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।
सो अवसरमा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमालसहित सिङ्गो देशलाई जोड्ने तथा विभिन्न स्थानमा आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
जात, लिङ्ग, धर्म, सम्प्रदाय वा भूगोलभन्दा माथि उठेर सबै नेपालीलाई एकताबद्ध गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा सफल हुने विश्वास व्यक्त गर्दै उनले सांसद सिंहलाई शुभकामना दिएका थिए ।
सांसद सिंहले देशका विभिन्न स्थानमा पुगेर जनताका कुरा सुन्न, उनीहरूका समस्या र अपेक्षा बुझ्न पदयात्रा सुरु गरेको जानकारी दिएका छन् ।