काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको बसेको बैठकले साविककै मूल्य कायम राख्ने निर्णय गरेको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ ।
आइतबार आईओसीबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिए पनि हालको परिस्थितिमा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
