काठमाडौँ । तीन दिनको सार्वजनिक बिदापछि मंगलबार खुलेको सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको हो ।
आज कारोबारमा आएका ३५३ वटा स्क्रिपका १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा सहभागी कम्पनीमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटाको मूल्य बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
समग्र बजार घटे पनि अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ११.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३५९ रुपैयाँ पुगेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा नबिल बैंक डिबेञ्चर पहिलो स्थानमा रहेको छ । उक्त स्क्रिपको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत परिसूचकतर्फ म्युचुअल फन्ड समूहको सूचक मात्रै बढेको छ। बाँकी सबै समूहका सूचक घटेका छन्। तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ ।