सामाजिक सञ्जालमार्फत भ्रामक तथा भ्रमपूर्ण सूचना प्रकाशन र प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक तथा भ्रामक सूचना सम्प्रेषण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उक्त सामग्रीमार्फत सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक अन्योल फैलाउने कार्य गरेको आरोप उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
यसैबीच, प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न र भ्रामक सामग्री सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।