जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगन्जका तत्कालीन दुई प्राविधिक अधिकृतविरुद्ध घुस लेनदेनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट ३ लाख ४५ हजार रुपैयाँ घुस मागेको तथा लिएको आरोपमा छैटौँ तहका तत्कालीन प्राविधिक अधिकृतद्वय गजेन्द्रप्रसाद जायसवाल र विक्की यादवविरुद्ध अख्तियारले बुधबार (मंसिर २ गते) आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोत पुनर्भरण तथा भण्डारण योजनाको काम सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए ।
अधिकृतद्वय जायसवाल र यादवको आपसी मिलेमतोमा सेवाग्राहीसँग ३ लाख ४५ हजार रुपैयाँ घुस मागिएको अख्तियारको दाबी छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद सजाय तथा घुस रकम बराबरको बिगो जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।
अख्तियारले आरोपपत्र दायर गरेसँगै उक्त प्रकरण अब विशेष अदालतको न्यायिक प्रक्रियामा अघि बढ्नेछ ।