मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान भएको यात्रुवाहक सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुर (चपुर) बाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको थियो ।
दुर्घटनाबारे सुमो चालक कालुमान लोप्चनले अचानक अन्धकार देखेपछि गाडी सडकबाट तल खसेको बताएका छन् ।
‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ घाइते अवस्थामा उपचारका लागि हेटौंडा ल्याइएका चालक लोप्चनले भने ।
दुर्घटनालगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका चालकसहित अन्य सात जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।