

काठमाडौं । नेपाली जनताले वर्षौंदेखि खोज्दै आएको सुशासन, जवाफदेहिता र सरकारी कार्यशैलीमा सुधारको अपेक्षा बालेन सरकारको काम गर्ने शैलीमा देखिन थालेको चर्चा हुन थालेको छ ।
सरकार सञ्चालनको परम्परागत शैलीमा परिवर्तन ल्याउने प्रयासस्वरूप प्रधानमन्त्री नियमित रूपमा सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बिहान ९ देखि साँझ ५ बजेसम्म सरकारी काममा केन्द्रित हुन थालेको, बालुवाटारलाई विशुद्ध प्रधानमन्त्री निवासका रूपमा सीमित गरिएको र सरकारी निवासलाई राजनीतिक भेटघाट तथा दलीय गतिविधिको केन्द्र बनाउने प्रवृत्तिमा रोक लगाइएको दाबी गरिएको छ ।
त्यस्तै, प्रधानमन्त्रीलाई भेट्न सांसद, पार्टीका नेता–कार्यकर्ता, चन्दादाता तथा व्यापारीहरूको बिहानदेखि रातिसम्म लाग्ने भीड घटेको र अनावश्यक डेलिगेसन तथा औपचारिक भेटघाटलाई निरुत्साहित गरिएको विषयलाई पनि सरकारको सकारात्मक कार्यशैलीका रूपमा व्याख्या गरिएको छ ।
प्रधानमन्त्रीको समय अनावश्यक भाषण, उद्घाटन, रिबन काट्ने कार्यक्रम र औपचारिक समारोहमा खर्चिनुको सट्टा नीतिगत निर्णय तथा शासन सञ्चालनमा केन्द्रित हुन थालेको बताइएको छ । पार्टीको दैनिक गतिविधिबाट अलग रहेर सरकारको नेतृत्वमा मात्रै ध्यान दिने अभ्यासले प्रधानमन्त्रीको भूमिकालाई थप जिम्मेवार बनाएको समर्थकहरूको बुझाइ छ ।
यसैगरी, सरकारलाई पार्टीको निर्देशन र नियन्त्रणबाट अलग राख्दै कार्यकारी अधिकारको वास्तविक अभ्यास गर्ने प्रयास भइरहेको चर्चा छ । सरकारका निर्णयको जस–अपजस प्रधानमन्त्री स्वयंले लिनुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक जवाफदेहिताका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्रीको सवारीका नाममा सडक अवरुद्ध गर्ने, विमानस्थलदेखि सार्वजनिक स्थानसम्म तडकभडकपूर्ण सुरक्षा प्रदर्शन गर्ने तथा कार्यकर्ताको लावालस्कर देखाउने पुरानो प्रवृत्तिमा समेत परिवर्तन आएको दाबी गरिएको छ ।
प्रधानमन्त्रीसँग निकटता देखाएर सरकारी काम गराउने, प्रभाव जमाउने वा अनुचित लाभ लिन खोज्ने प्रवृत्तिमाथि निगरानी र कारबाही हुन थालेको विषयले नेता तथा राजनीतिक पहुँचको आडमा काम गराउने संस्कृतिलाई चुनौती दिएको समर्थकहरूको धारणा छ ।
कर्मचारीतन्त्रमा पनि सुधारको संकेत देखिएको बताइएको छ। कर्मचारीका दलीय संगठनको प्रभाव कमजोर बनाउने, कर्मचारी नेताहरूको दादागिरी र बिचौलियागिरी नियन्त्रण गर्ने तथा सरुवा भएका वा खटाइएका कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई जिम्मेवार बनाउने प्रयासलाई सुशासनको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
त्यस्तै, सरकारी कामकाजमा अनावश्यक हस्तक्षेप गर्ने दलाल तथा बिचौलियाहरूको प्रभाव घटाउने र प्रधानमन्त्री वा उनको परिवारसम्म पहुँच पुर्याएर मात्रै काम हुन्छ भन्ने पुरानो मान्यतालाई अन्त्य गर्ने प्रयास भइरहेको चर्चा छ। ब्रिफकेस र राजनीतिक पहुँचबिना सरकारी काम अघि बढ्दैन भन्ने मानसिकतालाई तोड्नु पनि सरकारप्रतिको अपेक्षामध्ये एक हो ।
यी विषयलाई बालेन सरकारको सकारात्मक कार्यशैलीका रूपमा प्रस्तुत गर्दै समर्थकहरूले मुलुकलाई अहिले केवल सरकार परिवर्तन नभई शासन सञ्चालनको संस्कार परिवर्तन आवश्यक रहेको बताएका छन् ।
यद्यपि, यी प्रयासको वास्तविक मूल्यांकन परिणाम, पारदर्शिता, कानुनी प्रक्रिया र नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका आधारमा हुनुपर्ने देखिन्छ। सुशासनका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छन् ।
अन्ततः जनताको चाहना केवल नयाँ अनुहार र नयाँ सरकार होइन, पुरानै प्रवृत्तिबाट मुक्त जिम्मेवार नेतृत्व, पारदर्शी प्रशासन र जवाफदेही शासन व्यवस्था हो। परिवर्तनको सुरुवात नेतृत्वको कार्यशैलीबाटै हुनुपर्छ।