पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताए ।
उनले अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारे । उनका अनुसार प्याकेज नम्बर ९ए, ९बी र ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन ।
पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफैँले प्रतिबद्धता जनाएको कार्यतालिकाअनुसार काम गर्न नसकेको मन्त्री लम्सालको भनाइ छ ।
उनले भने, “केही ठेक्काहरू, जस्तै प्याकेज ९ए, ९बी, ८बी लगायतका केही प्याकेजहरूको कार्यसम्पादन राम्रो छैन । संशोधित कार्यतालिकाअनुसार पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेका र आफैँले पेस गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ । हामी त्यस्ता ठेक्का रद्द गर्नेछौँ ।”
मन्त्री लम्सालले आयोजनाको काठमाडौंस्थित प्रारम्भिक बिन्दुमा देखिएका केही समस्या पनि छिट्टै समाधान गरिने बताए । ती समस्या समाधान भएपछि रद्द गरिएका ठेक्काअन्तर्गतका बाँकी कामका लागि पुनः बोलपत्र आह्वान गरिने उनको भनाइ छ ।
फास्ट ट्र्याक निर्माणका क्रममा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उनले आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानुनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तीव्रता दिएको बताए ।
हालै भएको महादेवटार सुरुङको ब्रेक थ्रुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै मन्त्री लम्सालले उक्त सुरुङ नेपालकै सबैभन्दा लामो सडक सुरुङ भएको बताए ।
उनले फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्तिको सीप, अनुभव र क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । आयोजनामा कार्यरत नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्ति भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि देशको महत्त्वपूर्ण सम्पत्ति बन्ने उनको भनाइ छ ।
आगामी दिनमा यस्तै प्रकृतिका ठूला पूर्वाधार आयोजना सञ्चालन गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले त्यस्ता आयोजनामा नेपाली सेनाको भूमिका थप विस्तार गरिने बताए ।
त्यसैगरी, विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता, कार्यक्षमता तथा छोटो समयमै बेली ब्रिज निर्माण गर्ने सीपको पनि उनले प्रशंसा गरे ।
सरकारले फास्ट ट्र्याकलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीमाथि कडाइ गर्ने र बाँकी निर्माण कार्यलाई तीव्रता दिने नीति लिएको मन्त्री लम्सालले बताए ।