उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जानकारी दिएका छन् ।
ढकालले बिहीबार साँझ काठमाडौंको टोखास्थित आफ्नै निवासमा आफैंलाई गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार न्यायाधीशको सुरक्षाका लागि खटिँदा प्रयोग गर्ने पेस्तोलबाटै उनले आफैंलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।