वीरगंजस्थित मिनाबजार कम्पलेक्सका तरकारी व्यवसायीहरूले भाडा तथा सम्झौतासम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका छन्। व्यवसायीहरूले कम्पलेक्सको ठेक्का लिएको आर.पी.ए. कन्ट्रक्सन, भिखमपुर–३, पर्साविरुद्ध आवश्यक छानबिन तथा कारबाहीको माग गर्दै प्रशासनमा निवेदन दिएका हुन्।
वीरगंज महानगरपालिकाबाट मिनाबजार कम्पलेक्स सञ्चालनको ठेक्का आर.पी.ए. कन्ट्रक्सनले लिएको छ। उक्त कम्पलेक्समा पसल सञ्चालन गर्दै आएका तरकारी व्यवसायीहरूले भाडादर, पसल सञ्चालन तथा सम्झौतासम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सम्बन्धित ठेकेदार पक्षबाट मनोमानी भइरहेको आरोप लगाएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्सालाई सम्बोधन गरी बुझाइएको निवेदनमा पुरानो भाडादरमा १० प्रतिशतसम्म वृद्धि गरिएको विषयसमेत उठाइएको छ। व्यवसायीहरूका अनुसार भाडा वृद्धि तथा सम्झौतासम्बन्धी निर्णयले आफूहरूमाथि थप आर्थिक भार परेको छ।
व्यवसायीहरूले प्रचलित कानुनी व्यवस्था र सम्बन्धित सम्झौताअनुसार समस्या समाधान गर्नुपर्ने माग गरेका छन्। साथै, आफूहरूमाथि परेको समस्याबारे निष्पक्ष छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन्।