शिख धर्मका प्रवर्तक तथा प्रथम गुरु नानक देवको जन्मजयन्ती वीरगंजमा धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदै छ । कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबारदेखि विभिन्न धार्मिक कार्यक्रम आयोजना गरी शिख समुदायले गुरु नानकको प्रकाशोत्सव मनाइरहेको हो ।
प्रकाशोत्सवका अवसरमा वीरगंजस्थित गुरुद्वारा साहेबमा बिहानैदेखि श्रद्धालुहरूको चहलपहल बढेको छ । शुक्रबारदेखि लगातार भजन–कीर्तन, अखण्ड पाठ, प्रभातफेरी तथा लंगर (सामूहिक भोजन) आयोजना हुँदै आएको छ। लंगरमा शिख समुदायका साथै अन्य धर्मावलम्बीहरूको समेत सहभागिता देखिएको छ ।
समुदायका अगुवा जसपाल सिंहका अनुसार मंगलबार साँझ गुरुद्वारा तथा आ–आफ्ना घरमा दीप प्रज्वलन गरी प्रकाशोत्सव मनाउने कार्यक्रम रहेको छ ।
यसैबीच, शिख समुदायले आफ्ना प्रमुख धार्मिक पर्वहरूमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । गुरु नानक जयन्तीको अवसरमा सिंह नेतृत्वको श्री गुरु नानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै शिख समुदायका धार्मिक पर्वमा सार्वजनिक बिदा र राष्ट्रप्रमुखबाट शुभकामना सन्देश जारी गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्रमा गुरु नानक देवको प्रकाशोत्सव, नवौँ गुरु तेगबहादुरको शहीदी दिवस, दशौँ गुरु गोबिन्द सिंहको जन्मजयन्ती तथा वैशाखी पर्वमा सार्वजनिक बिदा दिन माग गरिएको छ ।
शिख समुदायले अन्य धर्मका प्रमुख पर्वमा राज्यका तर्फबाट शुभकामना सन्देश जारी हुने गरे पनि आफ्नो समुदायका धार्मिक पर्वमा राष्ट्रप्रमुखबाट शुभकामना सन्देशसमेत नआउनु उपेक्षाको विषय भएको जनाएको छ। गुरु नानकको मानवता, करुणा, समानता, श्रमको सम्मान, सेवा र धार्मिक सद्भावको दर्शनलाई राज्यले पनि सम्मान गर्नुपर्ने समुदायको माग छ।
गुरु नानक जयन्तीलाई शिख समुदायले प्रकाशोत्सवका रूपमा मनाउने गर्छ । यस अवसरमा गुरु नानकको जीवन, दर्शन, योगदान र धार्मिक यात्राको स्मरण गर्दै शब्द–कीर्तन गर्ने, धार्मिक प्रवचन सुन्ने तथा मानव कल्याणका लागि प्रार्थना गर्ने परम्परा छ ।
सन् १४६९ अप्रिल १५ मा तत्कालीन पञ्जाब क्षेत्रको तलवन्डीमा जन्मिएका गुरु नानकलाई बाबा नानक र नानकशाहका नामले समेत चिनिन्छ। हाल उनको जन्मस्थल पाकिस्तानको ननकाना साहिबका रूपमा परिचित छ ।
गुरु नानकले मानव समानता, इमानदार श्रम, सेवा र परोपकारलाई आफ्नो दर्शनको मुख्य आधार बनाएका थिए। ‘किरत करो’ अर्थात् इमानदारीपूर्वक श्रम गर, ‘नाम जपो’ अर्थात् ईश्वरको स्मरण गर र ‘वंड छको’ अर्थात् आफूसँग भएको कुरा अरूसँग बाँडेर खाऊ भन्ने उनका तीन प्रमुख सन्देशलाई शिख समुदायले जीवनपद्धतिका रूपमा आत्मसात् गर्दै आएको छ ।
गुरु नानक आफ्नो धार्मिक यात्राका क्रममा नेपालसम्म आएको ऐतिहासिक प्रमाण रहेको जसपाल सिंहको भनाइ छ । उनका अनुसार गुरु नानकले चार उदासी अर्थात् धार्मिक यात्राका क्रममा नेपालको भूमिमा समेत पाइला टेकेका थिए । नेपालका विभिन्न स्थानमा रहेका मठ तथा गुरुद्वारामा सुरक्षित पुराना गुरु ग्रन्थ साहेब र विभिन्न सम्प्रदायका अनुयायीहरूको उपस्थितिले नेपालसँग शिख धर्मको ऐतिहासिक सम्बन्ध पुष्टि गर्ने उनको दाबी छ ।
ज्ञापनपत्रमार्फत शिख समुदायले नेपालमा पुर्याउँदै आएको आर्थिक तथा सामाजिक योगदानको सम्मान गर्नसमेत राज्यको ध्यानाकर्षण गराएको छ ।
वीरगंजमा शिख समुदायको बसोबास करिब छ दशक पुरानो मानिन्छ। आदर्शनगर र पानीटंकी क्षेत्रमा बाक्लो उपस्थिति रहेको यो समुदाय पछिल्लो समय भने क्रमशः पातलिँदै गएको छ । धार्मिक पहिचान, सांस्कृतिक संरक्षण र राज्यबाट समान सम्मान पाउनुपर्ने मागसहित समुदायले आफ्नो पर्वलाई राष्ट्रिय पहिचान र मान्यतासँग जोड्न आग्रह गरेको छ ।