काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित १० वटा प्रमुख क्षेत्रमा सहकार्य गर्ने संयुक्त दृष्टिकोणपत्र (Joint Vision) जारी गरिएको छ ।
संयुक्त दृष्टिकोणपत्रमा विकास सहायता, रेल तथा सडक सञ्जाल, ऊर्जा, सूचना प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य, कृषि तथा व्यापार र लगानीलाई प्राथमिकतामा राखिएको छ ।
१. २४ हजार करोड रुपैयाँ बराबरको विकास सहायता
भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको छ । यसमध्ये ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण रहने उल्लेख छ ।
२. रेल तथा सडक सञ्जाल विस्तार
नेपाल र भारतबीच अयोध्या–जनकपुर सीधा रेल सेवा सञ्चालन गर्ने, रक्सौल–काठमाडौं रेलमार्ग विकासलाई अघि बढाउने तथा पूर्व–पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने विषय समेटिएको छ । यसका साथै सडक तथा पुल निर्माणलाई पनि प्राथमिकता दिइनेछ ।
३. ऊर्जा तथा जलस्रोतमा सहकार्य
पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजना अघि बढाउने, जलविद्युत् उत्पादन तथा विद्युत् व्यापार विस्तार गर्ने र नेपालमा ग्रिन हाइड्रोजन परियोजना विकासमा सहकार्य गर्ने विषय दृष्टिकोणपत्रमा समावेश गरिएको छ ।
४. सूचना प्रविधि र स्टार्टअप विकास
काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स तथा पोखरामा डिजिटल नोम्याड र इनोभेसन हब स्थापना गर्ने प्रस्ताव गरिएको छ । साथै नेपाली भाषाको कृत्रिम बौद्धिकता (एआई) मोडल विकासमा समेत दुवै देशले सहकार्य गर्ने उल्लेख छ ।
५. शिक्षा तथा सीप विकास
नेपालमा भारतका प्रतिष्ठित शैक्षिक संस्थाका क्याम्पस स्थापना गर्ने सम्भावना अध्ययन गरिनेछ । प्रारम्भिक चरणमा भारतीय प्रविधि संस्थान (आईआईटी) को क्याम्पस स्थापनाका लागि पहल गर्ने तथा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र सीपमूलक तालिम विस्तार गर्ने योजना समेटिएको छ ।
६. क्रिकेट तथा खेलकुद पूर्वाधार विकास
नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने भएको छ । राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्नुका साथै नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर उपलब्ध गराउने विषय पनि समावेश गरिएको छ ।
७. पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तार
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर–अयोध्या रामायण सर्किट, लुम्बिनी–बोधगया बौद्ध सर्किट तथा पशुपतिनाथ–वाराणसी शिव–शक्ति सर्किट विकास गर्ने प्रस्ताव गरिएको छ । यसका साथै वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने योजना पनि छ ।
८. स्वास्थ्य क्षेत्रमा सहकार्य
नेपालका स्वास्थ्य संस्था तथा अस्पताल निर्माणमा सहयोग गर्ने, राष्ट्रिय मेडिकल ल्याबको स्तरोन्नति गर्ने र नेपालमा भारत–नेपाल जनऔषधि केन्द्र स्थापना गर्ने विषय दृष्टिकोणपत्रमा समेटिएको छ ।
९. कृषि तथा औद्योगिक विकास
भारतको अनुदान सहयोगमा चितवनमा एग्रो–इन्डस्ट्रियल पार्क स्थापना गर्ने प्रस्ताव गरिएको छ । कृषि अनुसन्धान, आधुनिक प्रविधिको प्रयोग तथा किसानको सीप विकासमा समेत सहकार्य गरिनेछ ।
१०. व्यापार तथा लगानी प्रवर्द्धन
नेपाल–भारत सीमाक्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, औद्योगिक उत्पादन तथा आईटी पार्क विकास गर्ने र नेपालमा भारतीय लगानीलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
यसका अतिरिक्त, नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने विषय पनि समेटिएको छ । सीमा, जलस्रोत, ऊर्जा तथा व्यापारसम्बन्धी बाँकी विषय संवादमार्फत समाधान गर्ने सहमति भएको उल्लेख छ ।
संयुक्त दृष्टिकोणपत्रमा समावेश परियोजनाहरूको कार्यान्वयन तथा प्रगति अनुगमन गर्न दुवै देशका परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने सहमति भएको छ । उक्त समूहले कम्तीमा प्रत्येक ६ महिनामा बैठक गरी परियोजनाहरूको प्रगति समीक्षा गर्नेछ ।
नेपाल–भारतबीच जारी गरिएको यस संयुक्त दृष्टिकोणपत्रले पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन तथा व्यापारलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।