भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार प्रदान गरेका छन् ।
नयाँ दिल्लीमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई कलात्मक काठको बट्टाभित्र राखिएको उपहार सेट दिएका हुन् । उक्त सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको छ ।
भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए । मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।
प्रधानमन्त्री शाहले मोदीलाई प्रदान गरेको उक्त उपहार व्यक्तिगत रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
त्यसैगरी, नेपाली दूतावासका तर्फबाट प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको यस उपहारले नेपालका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई भारतसमक्ष प्रस्तुत गरेको छ ।