प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सोमबार दुवै पक्षबीच बहस हुन सकेन । सर्वोच्च अदालतले हालका आइजिपी डा. मनोजकुमार केसीका नाममा पुनः म्याद जारी गर्न आदेश दिएपछि अन्तरिम आदेशसम्बन्धी छलफल रोकिएको हो ।
कार्कीले दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्न सोमबारको मिति तोकिएको थियो । गोलाप्रथाबाट उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो ।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न सोमबारको मिति तोकेको थियो ।
कार्कीले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र हालका आइजिपी मनोजकुमार केसीलाई विपक्षी बनाइएको छ ।
अन्तरिम आदेशसम्बन्धी छलफलमा सहभागी हुन विपक्षीहरूलाई सूचना दिनुपर्ने कानुनी व्यवस्थाअनुसार सर्वोच्च अदालतले सबै विपक्षीका नाममा म्याद पठाएको थियो । तर, आइजिपी केसीका नाममा पठाइएको म्याद भने तामेल हुन सकेन ।
मंसिर ४ गते म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुग्दा केसी कार्यालयमा उपस्थित नभएको र कार्यालयले समेत पत्र बुझ्न अस्वीकार गरेको भन्दै म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरिएको थियो ।
केसी पक्षका एक कानुन व्यवसायी भने सोमबार इजलासमा उपस्थित भएका थिए। उनले म्याद बुझ्न नसक्नुको कारण प्राविधिक रहेको जानकारी गराएका थिए ।
सर्वोच्च अदालत स्रोतका अनुसार म्याद तामेल हुन नसकेपछि अदालतका कर्मचारीले ह्वाट्सएपमार्फत केसीलाई पत्र पठाएका थिए । तर, ह्वाट्सएपमार्फत पठाइएको सूचनालाई आधिकारिक म्याद मान्ने वा नमान्ने विषयमा प्रश्न उठेपछि इजलासले पुनः म्याद जारी गर्ने आदेश दिएको हो ।
इजलासले नेपाल प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने कानुन व्यवसायीमार्फत आइजिपी केसीका नाममा जारी भएको म्याद बुझाउन र त्यसपछि नियमानुसार पेस गर्न आदेश दिएको छ ।
साथै, उक्त रिटलाई छिटो टुंग्याउनुपर्ने प्रकृतिको भन्दै सर्वोच्चले सुनुवाइलाई प्राथमिकता दिएर आगामी मंसिर ९ गतेका लागि पेसी तोक्न आदेश दिएको छ ।
यसअघि मंसिर २ गतेको इजलासले कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने र केसीलाई आइजिपी बनाउने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपिसहित सम्बन्धित कागजात पेस गर्न सरकारलाई आदेश दिएको थियो । साथै, सरकारका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश जारी गरिएको थियो ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रारम्भिक सुनुवाइका क्रममा कार्कीका पक्षबाट अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत तथा वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, बद्रीबहादुर कार्की, दिनमणि पोखरेल, पूर्णमान शाक्य र राधेश्याम अधिकारीलगायतले बहस गरेका थिए ।
उनीहरूले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको अवस्थामा सरकारले जिम्मेवारी फेरबदलको नाममा कार्कीलाई पदबाट हटाउन नमिल्ने तर्क गरेका थिए ।
प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको अनिवार्य अवकाशको उमेर ५८ वर्ष, सेवा अवधि ३० वर्ष र पदावधि चार वर्ष तोकिएको छ । नियमावलीमा उल्लेखित व्यवस्थाबाहेक अन्य आधारमा महानिरीक्षकलाई पदबाट हटाउन नमिल्ने कार्की पक्षका कानुन व्यवसायीहरूको जिकिर छ ।