सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् ।
बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएपछि शनिबार राति करिब ८:३० बजे अस्पतालमा तोडफोड र आगजनी भएको हो ।
नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भएर नगर अस्पताल बरहथवामा उपचाररत थिइन् । उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण उनी अचानक बेहोस भएको भन्दै आफन्तहरूले अस्पतालभित्र विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड तथा आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई राति १०:४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएको थियो। तर, त्यहाँका चिकित्सकले राति १०:५३ बजे उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
अस्पतालको इमर्जेन्सी कक्षमा लागेको आगो नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन् ।
त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ ।
प्रहरीका अनुसार अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
घटनापछि अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।