त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाई बार्गेनिङ गर्दै घुस मागेको पुष्टि भएको छ ।
दुवै जनाले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार सेवाग्राहीबाट घुसबापत ९ हजार ५०० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएकाले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगको ठहर छ ।
आयोगले दुवै प्रतिवादीविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गर्दै बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन् ।