अनलाइन ठगीबाट प्राप्त रकम ओसारपसार गर्न नेपाली नागरिकका बैंक खाता तथा डिजिटल वालेट प्रयोग गर्ने संगठित गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ठगीबाट संकलित रकम विभिन्न तहका व्यक्तिमार्फत भारत पठाउने गिरोहका दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार निवासी २६ वर्षीय ताहिर हुसेन र ३६ वर्षीय मोहमद सावुदिन तथा विराटनगर निवासी ३१ वर्षीय जफर आलम र २३ वर्षीय फैयाज खान रहेका छन् । हुसेन र सावुदिन विराटनगर महानगरपालिका–४ मा बस्दै आएका थिए भने आलम विराटनगर–१७ र खान विराटनगर–९ का बासिन्दा हुन् ।
प्रहरीका अनुसार गिरोहका सदस्यहरूले नेपाली नागरिकसँग साथीभाइको सम्बन्ध बनाएर उनीहरूका बैंक खाता तथा ई–सेवा नम्बर संकलन गर्ने गरेका थिए । आफ्नो बैंक खाता नभएको र साथीको खातामा रकम पठाउनुपर्ने बहाना बनाएर खाता नम्बर लिने र ती खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा गराउने उनीहरूको तरिका रहेको खुलेको छ ।
खातामा रकम जम्मा भएपछि फैयाज खानले खातावालालाई सम्पर्क गरी नगद निकाल्न लगाउने र आफूलाई बुझाउन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी रकम उपलब्ध गराउने खातावालालाई दुई प्रतिशत कमिसन दिने गरिएको प्रहरीको भनाइ छ ।
गिरोहभित्र रकम बाँडफाँटको छुट्टै संरचना रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फैयाजले संकलित रकमको १० प्रतिशत आफू राखेर बाँकी रकम सावुदिन र जफरलाई दिने गरेका थिए । उनीहरूले पनि १० प्रतिशत कमिसन कटाएर बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको पाइएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ताहिर हुसेन पाकिस्तानी नागरिकहरूसँग सम्पर्कमा रहेर उनीहरूकै निर्देशनअनुसार रकम भारतका विभिन्न बैंक खातामा जम्मा गराउने काममा संलग्न थिए । नेपाली नागरिकका बैंक खातामार्फत संकलित रकम यसरी सीमापार पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले हालसम्म विभिन्न बैंक तथा ई–सेवाका गरी ४० वटा खाता ठगीमा प्रयोग भएको पत्ता लगाएको छ । नबिल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकलगायतका खाताहरू प्रयोग भएको पाइएको छ ।
डीएसपी मिश्रका अनुसार हालसम्म १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको खुलेको छ । तर, गिरोहले ठूलो संख्यामा बैंक खाता प्रयोग गरेको र थप पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार पाँच दिनअघि पक्राउ परेका उनीहरूले ठूलो सञ्जाल बनाएर अनलाइन ठगीबाट प्राप्त रकम संकलन तथा ओसारपसार गर्दै आएका थिए । गिरोहमा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ ।
पक्राउ परेकाविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको डीएसपी मिश्रले जानकारी दिनुभयो । प्रहरीले अनलाइन ठगीमा रकम गुमाएका व्यक्तिहरूलाई आवश्यक जाहेरीसहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न आग्रह गरेको छ ।