काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण सकेर स्वदेश फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकलअनुसार र्याम्प ज्याकेट लगाएका छन् ।
यसअघि आइतबार प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि बिदाइ गर्न पुगेका मन्त्री श्रेष्ठसहित गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेल र्याम्प ज्याकेटविना नै विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन) मा पुगेका थिए । उनीहरूको उक्त गतिविधिलाई विमानस्थलको सुरक्षा प्रोटोकल उल्लङ्घनका रूपमा हेरिएको थियो ।
विमानस्थलको एप्रोन क्षेत्रमा प्रवेश गर्दा आवश्यक विमानस्थल पास र र्याम्प ज्याकेट अनिवार्य मानिन्छ। यसअघि पनि र्याम्प ज्याकेट र विमानस्थल पासविना संवेदनशील क्षेत्रमा प्रवेश गरेको विषयमा कारबाही भएको उदाहरण छ ।
चार वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सुरक्षा प्रोटोकल उल्लङ्घन गरेको भन्दै नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अनुसूची १७ अनुसार जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र अर्थात् र्याम्प एरियामा यात्रु तथा चालक दलका सदस्यबाहेक अन्य व्यक्ति प्रवेश गर्दा सम्बन्धित विमानस्थलले जारी गरेको प्रवेश पास र आवश्यक सुरक्षा पोसाक (र्याम्प ज्याकेट) लगाउनुपर्ने व्यवस्था छ ।
मन्त्री श्रेष्ठले यसपटक प्रधानमन्त्रीलाई स्वागत गर्न पुग्दा र्याम्प ज्याकेट लगाएको दृश्यले यसअघि भएको प्रोटोकल उल्लङ्घनको घटनालाई पुनः चर्चामा ल्याएको छ ।