बारा | बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार बिहान करिब ३ बजे स्थानीय रतन महरा चमारको घरमा विद्युत् पोलको तार सर्ट हुँदा आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेका दुईवटा साइकल, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, बाख्रा तथा गरगहनालगायतका सामग्री जलेर नष्ट भएका छन् । आगो फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमा समेत आंशिक क्षति पुगेको छ।
आगलागीको खबर प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मी उद्धार र आगो नियन्त्रणमा जुटेका थिए । कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरी बल मटिअर्वाको सहयोगमा बिहान ४ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।