महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ ।
दाताको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको मंगलबार बाबा तपसी तरसरी कुट्टीको छेउमा आयोजित एक समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
केन्द्रका परिकल्पनाकार एवं संरक्षक इन्जिनियर सुदिप कुमार चौधरी र डा. निता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
थारु समुदायको मौलिक पहिचान, भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले भवन निर्माण गरिएको केन्द्रका अध्यक्ष रामनारायण चौधरीले जानकारी दिए ।
भवन निर्माणका लागि संरक्षकद्वय इन्जिनियर सुदिप कुमार चौधरी र डा. निता चौधरीले व्यक्तिगत रूपमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आफ्नै समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको अध्यक्ष चौधरीले बताए ।
नवनिर्मित भवनलाई थारु समुदायका मौलिक सांस्कृतिक गतिविधि, भाषा, कला, परम्परा तथा सामाजिक रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसले थारु समुदायको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
भवन उद्घाटनको अवसरमा मंगलबारदेखि केन्द्र परिसरमा दुईदिने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत बुधबार उक्त क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउँदै आएको सामाचकेवा पर्वको विशेष प्रदर्शन गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
स्थानीयवासीले थारु समुदायको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय कला, परम्परा र सांस्कृतिक विविधताको प्रवर्द्धनमा केन्द्रले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)