वैदेशिक रोजगारीका लागि जापान पठाइदिने प्रलोभन देखाएर २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय कृष्ण हरि दाहाल रहेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा जापान पठाइदिने आश्वासन दिँदै २ करोड ४५ लाख रुपैयाँ ठगी गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार दाहालले लामो समयसम्म जापान पठाइदिने भन्दै पीडितहरूलाई झुक्क्याउँदै आएका थिए । रकम लिएपछि भने उनी सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मंगलबार वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा आरोपीले पीडितहरूलाई शिरबहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ । कसैले रकम जम्मा गर्न आनाकानी गरेमा आफू नै शिरबहादुर गजुरेल भएको बताउँदै रकम फिर्ता गर्ने लिखित कागजसमेत गरिदिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
हालसम्म यस प्रकरणमा १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाल र शिरबहादुर गजुरेलबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई समेत सम्पर्कमा आउन आग्रह गरेको छ ।