काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको ब्रोकाउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
भक्तपुरबाट ल्याइएका ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी अवशेष फेला परेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ। अत्यधिक विषादीयुक्त भएको कारण उक्त ब्रोकाउली उपभोग अयोग्य रहेको विज्ञहरूले बताएका छन् ।
नियन्त्रणका लागि परीक्षण
केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १८ पसलबाट १८ प्रकारका तरकारी तथा फलफूलको नमूना परीक्षण गरेको थियो । उक्त परीक्षणको क्रममा ब्रोकाउलीमा विषादीको मात्रा अत्यधिक देखिएको हो । कृषि तथा खाद्य सुरक्षासम्बन्धी नियमअनुसार तोकिएको सुरक्षित मापदण्डभन्दा बढी विषादीयुक्त खाद्य पदार्थ उपभोग गर्न नहुने विज्ञहरूले सचेत गराएका छन् । बजार अनुगमनलाई थप कडाइ गरिने समितिले जनाएको छ ।
नागरिकलाई सचेत रहन आग्रह
सम्बन्धित निकायले उपभोक्ताहरूलाई विषादी परीक्षण गरिएको तथा सुरक्षित तरकारी तथा फलफूल मात्र उपभोग गर्न आग्रह गरेको छ । साथै, बजारमा बिक्री हुने तरकारी तथा फलफूलको नियमित जाँच गरिने बताइएको छ ।