काठमाडौं । पञ्चायतकालीन नेता नवराज सुवेदीले राप्रपा परित्याग गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजकसमेत रहेका सुवेदीले सोमबार राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलन गर्दै आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका हुन्।
राजसंस्थाका लागि नयाँ अभियान
सुवेदीले दलहरू असफल भएकाले राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भएको दाबी गरेका छन् । ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु,’ उनले भने । उनले देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म–संस्कृति र परम्पराको रक्षा गर्न राजसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
नवीन समझदारीको प्रस्ताव
सुवेदीले जारी गरेको विज्ञप्तिमा ‘नवीन समझदारी’ नामक अवधारणाअनुसार देशको स्थायित्वका लागि राजसंस्था र दलहरूबीच समझदारी आवश्यक रहेको उल्लेख गरिएको छ । उनले दलहरूले तत्काल उक्त प्रस्तावलाई सम्बोधन नगरे नेपालमा फेरि जनआन्दोलन हुन सक्ने चेतावनी दिएका छन् ।
सुवेदीको राप्रपा परित्यागले राजसंस्था समर्थकहरूको नयाँ ध्रुवीकरण हुने संकेत देखिएको छ ।