जनकपुरधाम । माध्यमिक शिक्षा परिक्षा (एसईई) को सम्पूर्ण जिम्मेवारीबाट मधेश प्रदेश सरकार बाहिरिएको छ ।
एक पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले आफूहरु एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको जनाएका हुन् । आउँदो बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको हो ।
प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाई लगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिन बाध्य भएको जनाइएको छ ।
प्रदेश सरकारले हात झिकेसँगै प्रदेश सरकारबाट परिक्षामा हुने सम्पूर्ण सहयोग, व्यवस्थापन, अनुगमन, निरीक्षण लगायतका काम नहुने भएका छन् । यसले आगामी परिक्षा कस्तो हुने हो भन्ने प्रश्न उठाएको छ ।
मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन् ।
शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिनेछन् ।