काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पानीको मुहानमा राजनीति हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभामा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले मुहान नेपाल सरकारको सम्पत्ति भएको उल्लेख गरे । ‘कसैले दादागिरी गरेर यो वार्डबाट त्यो वार्डमा पानी जान नदिने जुन राजनीति छ, त्यो अब हामी अन्त्य गर्छौं,’ उनले भने ।
मन्त्री यादवले मुहान संरक्षणका लागि सरकारले आवश्यक बजेट छुट्याउने जानकारी दिए । ‘देशभरका मुहान सुरक्षाका लागि यस पटक खानेपानी मन्त्रालयले विशेष बजेट राखेर अगाडि बढ्छ,’ उनले भने ।
हाल २७ प्रतिशत नागरिकमा मात्र स्वच्छ खानेपानीको पहुँच रहेको उल्लेख गर्दै उनले तथ्यांक अद्यावधिक गर्न बाँकी रहेको बताए ।
उनका अनुसार सरकारले खानेपानीको पहुँच विस्तारलाई तीव्रता दिने योजना बनाएको छ । ‘एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित काम अघि बढाएका छौं,’ उनले भने। मन्त्री यादवले यो चुनौतीपूर्ण भए पनि सरकारले योजनाबद्ध रूपमा अघि बढ्ने बताए ।