नेपाल रेल्वे बोर्डले रेल सेवा सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली रेल चालक (लोकोपाइलट) को सूचीकरणका लागि आवेदन आह्वान गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। स्वदेशी जनशक्तिलाई प्राथमिकता दिँदै दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालक तयार पार्ने उद्देश्यले आवेदन प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् आगामी मङ्सिर २१ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ ।
आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट प्राप्त रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा तालिम र कार्यअनुभवसम्बन्धी प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै तयार पार्ने तथा योग्य नेपाली नागरिकलाई अवसर प्रदान गर्ने लक्ष्यसहित सूचीकरण प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न सक्नेछन् ।