सप्तरी | जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको लागुऔषध गाजा सप्तरी प्रहरीले शुक्रबार नष्ट गरेको छ ।
राजविराज नगरपालिका–१५ स्थित खाडो खोला छेउमा २४ क्विन्टलभन्दा बढी गाजा आगो लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार गाजा नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सप्तरी जिल्ला अदालतका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बरामद गाजामध्ये एकैदिन सबै नष्ट गर्न नसकिने भएकाले शनिबार बाँकी गाजा नष्ट गरिने जानकारी दिए ।
सप्तरी प्रहरीले पछिल्लो डेढ महिनाको अवधिमा भारततर्फ तस्करी गर्न खोजिएको र गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा गाजा बरामद गरेको थियो।
प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित नियमित निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।