वीरगंजको प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट गहवामाई माताको दोस्रो डोली यात्रा यहि चैत २३ गते शनिबारका दिन निकालिने भएको छ ।
गत वर्षदेखि सुरु भएको गहवामाईको डोली यात्रा यस वर्ष पनि चैते दशैंको अष्टमीका दिन आयोजना गरिन लागेको हो । माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार डोली यात्राका लागि आवश्यक तयारीहरू पूरा भइसकेका छन् ।
चैत २३ गते शनिबार दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा गरिनेछ । त्यसपछि अपराह्न ४ बजे मन्दिरको प्रांगणबाट डोली यात्रा सुरु हुनेछ ।
डोली यात्रा गहवामाई मन्दिरबाट सुरु भई २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थान चोक परिक्रमा गरेर पुनः गहवामाई मन्दिरमा पुगेर समापन हुनेछ । डोली यात्रापछि शनिबार साँझ मन्दिर परिसरमै महाआरतीको कार्यक्रम आयोजना हुने समितिले जनाएकाे छ । भक्तजनहरूलाई गहवामाईको तस्बिर अंकीत निशान वितरण गरिनेछ ।
यसपालि प्रत्येक निशानको शुल्क ३५० रुपैयाँ तोकिएको अध्यक्ष साहले जानकारी दिए । गत वर्षको पहिलो डोली यात्रामा ६५० वटा निशान वितरण गरिएको थियो । डोली यात्रामा सहभागी भक्तजनहरूले विशेष धार्मिक उत्सवको अनुभूति गर्न पाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।