ललितपुरको इमाडोल, ओचुहाइटस्थित मन्दिर नजिकै बुधबार राति ३० वर्षीय रिपक खातीको हत्या भएको छ ।
रामेछाप घर भएका खातीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार राति करिब १२:४५ बजे घटना भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
बिहीबार बिहान मृतकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रसाइलीले आफ्नी १५ वर्षीया बहिनीलाई खातीले जिस्क्याएको कारण हत्या गरेको स्वीकारेका छन् ।
पहिलेदेखि चिनजान रहेका सुमनले खातीलाई मन्दिरमा बोलाएर खुकुरी प्रहार गरेको खुलेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ । अभियुक्त रसाइलीलाई हिरासतमा राखी थप विवरण संकलन भइ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस घटनाले स्थानीय क्षेत्रमा चासो र आक्रोश बढेको छ ।