रौतहटको माधव नारायण नगरपालिका–३ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको छात्रावासमा डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत अवस्थामा फेला परेकी छिन् ।
मृतक छात्रा बाराको विश्रामपुर गाउँपालिका–५ की सुमन कुमारी बैठा रहेको रौतहट प्रहरीले जनाएको छ । छात्रा बैठा छात्रावासको बाथरूममा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
घटनास्थलको प्रारम्भिक अनुसन्धानले आत्महत्या भएको संकेत गरे पनि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको जनाएको छ । छात्रावासका साथीहरूका अनुसार सुमन केही समयदेखि मानसिक तनावमा रहेको बताइएको छ ।
तथापि, मृतकले यस विषयमा स्पष्ट रूपमा केही नबताएको र परिवारसँग सामान्य सम्पर्कमा रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले घटनाको थप सत्यतथ्य पत्ता लगाउन फरेन्सिक टोलीमार्फत शव परीक्षण गर्न वीरगञ्ज पठाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा छात्रावासमा कुनै अप्रिय घटना वा झगडा भएको सूचना नपाएको भए पनि घटनाको गहिरो विश्लेषण गरिरहेको प्रहरीले जनाएको छ ।