चार दिनदेखि बेपत्ता रहेका सर्लाही चक्रघट्टा–८ निवासी १९ वर्षीय राहुल साहको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । उनी काठमाडौं गोकर्णेश्वर–५ बाहुनधारामा बस्दै आएका थिए ।
चैत ११ गतेदेखि हराइरहेका राहुलको शव चैत १५ गते माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहारका २९ वर्षीय सुनिल शर्मा, सर्लाही चक्रघट्टा–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षीय करण कुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल रहेका छन् ।
प्रहरीका अनुसार मुख्य अभियुक्त निपु मण्डल र जोधन मण्डल गोकर्णेश्वर–५ मा, सुनिल शर्मा काठमाडौंको दक्षिणढोकामा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा राहुलको हत्या लेनदेन विवादका कारण भएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आरोपितहरूविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको एसपी बोहोराले जानकारी दिएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ ।