काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंककतर्फ प्रस्थान गरेका छन् । उनी आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका हुन् ।
नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक नेपालको प्रधानमन्त्रीले औपचारिक रूपमा थाइल्याण्ड भ्रमण गर्न लागेको हो । प्रधानमन्त्री ओलीले बैंककलाई ‘गेट–वे’ को रूपमा लिँदै नेपालीको छिमेकी मुलुक बाहेकका देशहरूसँगको सम्बन्ध विस्तारका लागि यो भ्रमण महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा उनले थाइल्याण्डका नरेश र समकक्षीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
त्यसैगरी, दुबै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने तथा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले आगामी चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनपछि उनले अन्य सहभागी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ ।
प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–थाइल्याण्ड सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।